काठमाडौँमा सार्वजनिक स्थलमा होली खेल्न नपाइने

१२ चैत, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ।

कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।

चैत १५ गते पहाड र १६ गते तराईमा होली मनाइँदै छ।

Advertisement

यस्तै, सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समय–समयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत प्र.जि.अ. पराजुलीले अनुरोध गरेका छन्।

Advertisement

स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गरे।

यस्तै, कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टिन, आइसोलेसन केन्द्रहरूको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तहमार्फत् अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उनले बताए।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरूलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गरेका छन्।

यस्तै कोरोनाबाट थप जटिलता नआओस् भन्नका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top