१२ चैत, एजेन्सी । भारतमा कोरेना संक्रमणको दर दिनहूँ उच्च दरले बढ्न थालेपछि अबको केही महिना कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ।
भारतको केन्द्रीय सरकारले मंगलबार ४५ वर्षमाथिका सबै नागरिकलाई अप्रिल १ देखि भ्याक्सिन दिने निर्णय गरेको थियो।
पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्याक्सिन नदिने स्रोतलाई उल्लेख गर्दै द वायरले लेखेको छ।
यसअघि नै अर्डर लिइसकेकाहरूलाई खोप दिने तर नयाँ अर्डर नलिने स्रोतले बताएको छ।
नेपालीले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइरहेका छन्। सुरूमा भारत सरकारले १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो भने पछि नेपाल सरकारले १० लाख डोज किनेको थियो।
नेपालले सेरम इन्स्टिच्युटलाई थप १० लाख डोजको अर्डर दिए पनि त्यो अझैसम्म आइसकेको छैन। भारतको नयाँ निर्णयसँगै अब भ्याक्सिन आउने अनिश्चितता बढेको छ।
संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरमले यसअघि नै ब्राजिल, मोरोक्को र साउदी अरबलाई भारतमा माग उच्च भएकाले थप भ्याक्सिन आउन ढिला हुने जानकारी गराइसकेको छ।
भारतमा पछिल्लो २४ घन्टामा ५३ हजार जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये केहीलाई नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ।
भारतमा अहिलेसम्म १ करोड १७ लाख मानिसमा कोरोना संक्रमण भएको छ तीमध्ये १ लाख ६० हजारको मृत्यु भएको छ।
				
                                                    
                                                    





                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    

