१८ चैत्र, महोत्तरी ।
महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् ।
खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले उज्यालोलाई जानकारी दिइन् । अहिले प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिइन् ।
हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।
मेयर साहका अनुसार स्थानीयले किशोरीहरूलाई मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको देखेकोमा त्यसपछि उनीहरू बेपत्ता भएका थिए ।
उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको साहले जानकारी दिए ।
‘पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेको छ, यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरिनेछ । त्यसपछि उनीहरूलाई घर–परिवारको जिम्मा लगाइन्छ,’ उनले भने ।
सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।
साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो ।
प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।