विराटनगर,असार२
रुसमा जारी विश्वकप फुटबलमा हिजो भएका समूह चरणका खेलहरुमा उरुग्वे र ईरान विजयी हुँदा पोर्चुगलले स्पेनसँग बराबरी खेलेको छ ।
गएराति भएको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको ८९औं मिनेटमा जोस गिमेनेजले हेडगोल गरे ।
यसअघि, उरुग्वेले प्रहार गरेका दुई बललाई इजिप्टका गोलकिपरले विफल पारिदिएका थिए भने एउटा प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । यसैवीच, समूह बी अन्तर्गत भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगललाई स्पेनले ३–३ गोलको बराबरीमा रोकेको छ । खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।
स्पेनका डिएगो कोष्टाले दुई गोल गर्दा नाचो फर्नान्डेजले एक गोल थपे । यो बराबरीपछि स्पेन र पोर्चुगल दुबै टिमले विश्वकप फुटबलमा उपाधि दावेदारी पस्किएका छन् । यस्तै विश्वकप अन्तर्गत समुह बि कै अर्को खेलमा ईरानले मोरक्कोलाई १–० ले हराएको छ । गएराति नै भएको खेलमा इरानलाई विजयी गराउन मोरक्कोका अजिज बुहादुजले ईन्जुरी समयमा आत्माघाति गोल गरेका थिए ।
विश्वकप फुटबल इतिहासमा ईरानको यो दोस्रो जित हो । यसैविच, विश्वकप फुटबलमा आज चार खेल हुदैंछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् । नेपाली समयानुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्दैछन् ।
यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्दैछ । आजै हुने तेस्रो खेल पेरु र डेनमार्कविच वेलुकी पौने ९ वजे हुदैछ । आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।