२९ चैत्र, विराटनगर ।
एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति सोमबार नेपाल ल्याइपुर्याइँदै छ ।
उक्त मूर्ति ३७ वर्षअघि पाटनको पट्को टोलबाट हराएको थियो । नेपालबाट चोरिएको प्रमाणित भएपछि गत नोभेम्बर ३० मै यो मूर्तिलाई म्युजियमले अमेरिकी प्रहरीको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) लाई हस्तान्तरण गरेको थियो ।
एफबीआईले दुई महिनाअघि वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको मूर्ति अमेरिकी सरकारकै ढुवानी खर्चमा ल्याइन लागेको हो ।
७० केजीको वासुदेव–कमलाजा मूर्तिमा बायाँतर्फ विष्णु (नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । अन्वेषक लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल (सन् १९८९)’ पुस्तकमा समेत प्रकाशित यो मूर्ति सन् १९८४ मा चोरी भएको जनाइएको छ ।
कला सम्पदासम्बन्धी यो सोध पुस्तकमा २ सय ७७ वटा नेपाली मूर्ति–सम्पदा चोरिएको विवरण छ । वासुदेव–कमलाजा मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने निर्क्योल कतै गरिएको छैन ।
न्युयोर्कको जोन–जे कलेजमा आर्ट–क्राइम विषयका प्राध्यापक इरिन एल थोम्सनले पहिलो पटक डल्लास म्युजियममा राखिएको नेपालको मूर्तिबारे लेख लेखेकी थिइन् ।
आर्थिक संकटकै कारण अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजा मूर्तिलाई लागेजति खर्च बेहोरेर ल्याउने घोषणा ललितपुर महानगरपालिकाले गरेको थियो ।
तर मूर्ति नेपाली दूतावासमा बुझाइएपछि अमेरिकी विदेश मन्त्रालय, एफबीआईसहितका पदाधिकारीबीच दूतावासमा भएको विभिन्न चरणको छलफलपछि विदेश मन्त्रालयले आफ्नै खर्चमा मूर्ति फिर्ता पठाउने निधो गरेको हो ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘युनाइटेड पार्सल सर्भिस’ (यूपीएस) ले मूर्ति ढुवानी गर्दै छ ।
अमेरिकी विदेश मन्त्रालयको सहयोग र समन्वयमा यूपीएस कार्गो सेवाले मूर्ति निःशुल्क ढुवानी गरिदिने विषयमा गत बिहीबार नेपाली दूतावासका पदाधिकारीसँग लिखित सहमति भएको छ ।
उक्त मूर्ति कार्गो आइतबार न्युयोर्कबाट कतार एयरवेजमार्फत उड्ने र सोमबार अपराह्न काठमाडौं आइपुग्ने जनाइएको छ ।