सफा हिमाल अभियान अन्तर्गत सेनाले सगरमाथासहित ६ हिमालको सफाइ गर्ने

३० चैत, काठमाडौं । ’सफा हिमाल अभियान २०२१’ आजदेखि सुरु हुँदैछ ।

नेपाली सेनाले सञ्चालन गर्ने अभियानको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर शुभारम्भ गर्ने कार्यक्रम छ ।

नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरेर ६ वटा हिमाल सफाइ गर्दैछ ।

Advertisement

दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए ।

६ वटा हिमालको बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सहायक रथी खड्काको भनाइ छ । सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, पासाङ ल्हामु गाउँपालिका,थासाङ गाउँपालिका, मकालु वरुण गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।

Advertisement

आज सुरु भएको अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ । नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाण्डौ ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने पनि सेनाले जनाएको छ ।

अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ । हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको सहायक रथी खड्काले बताए ।

सन् २०१९ मा सगरमाथा सफाइ अभियान सुरु भएको थियो । गएको वर्ष कोरोना महामारीका कारण हिमाल सफाइको काम प्रभावित भए पनि यो वर्ष फेरि निरन्तरता दिन लागिएको सेनाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top