सरकारी मूल्यमा गहुँ खरिद शुरु

८ बैशाख, वीरगञ्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो ।

यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् ।

सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री गर्न थालेको किसान विजय पण्डितले बताए ।

Advertisement

सङ्घीय सरकारले यस वर्ष तीन हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ । पहिलो दिन मङ्गलबार ४० क्विन्टल गहुँ खरिद गरिएको कार्यालय प्रमुख विकास कटुवालले राससलाई बताए ।

संस्थानले एक किसानसँग बढीमा ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए।

Advertisement

अहिले गहुँको बजार मूल्य प्रतिक्विन्टल रु तीन हजार रहेको छ । स्थानीय मैदा मिलहरूले प्रतिक्विन्टल रु तीन हजार १०० का दरले किसानसँग खरिद गर्दै आएका छन् ।

पर्सामा यस वर्ष किसानहरुले २६ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले सोना मन्सुली धान ३५ हजार क्विन्टल र जिरामसिनो धान ११६ क्विन्टल खरिद गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top