कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका ४ सांसदलाई कारवाही गर्ने एमालेको निर्णय

१० वैशाख, काठमाडौँ । बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ।

नेता माधवकुमार नेपाल पक्षका चार सांसदले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टी र सांसद पदबाट हटाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो।

यस्तै कर्णाली प्रदेशकी सांसद देवी ओलीलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय पनि भएको छ। ओलीले भुलवश फ्लोर क्रस गरेको बताएकी थिइन्। उनले पार्टी निर्णय मान्ने बताइरहेकी छन्।

‘देवी ओलीलाई पुनः स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नहरने गरी कारवाही गर्ने निर्णय गरियो। यो निर्णय कार्यान्वनका लागि लेखेर कर्णाली प्रदेश सभामा पठाउने निर्णय भएको छ,’ ती नेताले भने।

यसैबीच देवी ओलीलाई कारवाही गर्न कर्ण थापा, गोरख बोगटीलगायतले माग गरेका थिए। तर उनी सच्चिएर आउँदा पार्टीमा ठाउँ दिने भन्दै उनलाई कारवाही नगरिएको ती नेता बताउँछन्।