साउदी: सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

साउदी: सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

१२ बैशाख, काठमाण्डौ । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ ।

साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।

गल्फ न्युजका अनुसार साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको हो ।

यस्तै कोरोना सङ्क्रमण फैलाउने आप्रवासीलाई पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने पनि जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलाउने कार्यलाई साउदीले अपराध भनेको छ । साउदीले गएको डिसेम्बर १७ देखि त्यहाँका नागरिक र आप्रवासीहरुलाई निःशुल्क रुपमा कोरोनाको खोप प्रदान गर्दै आएको छ ।

साउदीका अधिकारीहरुले जनाएअनुसार साउदीभर विभिन्न ५ सय ८७ खोप केन्द्रमार्फत अहिलेसम्म ८० लाख मानिसलाई खोप लगाइसकेको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ४ लाख १० हजार १९१ जनामा कोरोना सङ्क्रमण भएको छ भने ६ हजार ८ सय ७८ कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.