विराटनगर,असार ८
विश्वकप फुटबल अन्तर्गतको बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ ।
समूह डी मा भएको दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोल अन्तर्गतले पराजित गर्दै १९५८ यताकै विश्वकपको समूह चरणमा यति फराकिलो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।
क्रोएसियालाई विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल किपर वाइली काबाल्लेरोको अक्षम्य गल्तीका कारण क्रोएसियाले पहिलो गोल गरेको थियो । काबाल्लेरोले डी बक्सभित्र नियन्त्रमा लिएको बल क्लियर गर्ने क्रममा क्रोएसियाका एन्टे रोबिक नजिकै हावामा फ्यालेपछि ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औँ मिनेटमा रियल मड्रिडबाट खेल्दै आएका लुका मोड्रिचले गरेको गोल आकर्षक थियो । उनले अर्जेन्टिानाका डिफेन्डरलाई चक्मा दिँदै डी बक्सको केही बाहिरबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो ।
क्रोएसिया यतिमा मात्रै रोकिनेवाला थिए । उसका लागि बार्सिलोनाबाट खेल्दै आएका इभान राकिटिकले खलेको ९१ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी अल्मलिएका बेला गोललाई जालीको दिशा देखाइदिए ।
आइसल्यान्डविरुद्धको पहिलो खेलमा पेनाल्टी समेत गुमाएका लियोनल मेसीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
५९ प्रतिशत बल पोजिसन बनाए पनि क्रोएसियाको आक्रमणलाई अर्जेन्टिनाको डिफेन्सले छेक्न सकेन । यो पराजयपछि अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा पनि कठिन बनेको छ ।
यसअघि सन् २०१४ को विश्वविजेता जर्मनी आफ्नो समूह चरणको पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको थियो । त्यही विश्वकपको उपविजेता अर्जेन्टिना आफ्नो समूहको दोस्रो खेलमा लज्जास्पद हार भोग्न बाध्य भयो ।