१४ जेठ, सङ्खुवासभा ।
सफा हिमाल अभियानअन्तर्गत सङ्खुवासभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर सङ्कलन गरिएको छ ।
नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ ।
मकालु हिमालको आधार शिविरबाट छ हजार छ सय सात किलोग्राम फोहोर सङ्कलन गरेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजङ्ग थापाले जानकारी दिए ।
फोहोर सङ्कलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गएको वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको उनले जानकारी दिए ।
टोलीले गएको जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौथो क्याम्प फोहोर सङ्कलन गरेको थियो। यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरिएको टोलीले जनाएको छ ।
सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहोर सङ्कलन हुने टोलीले जनाएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा पर्ने मकालु हिमालको उचाइ आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाइसम्मको फोहोर सङ्कलन गरेको जनाएको छ ।
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर सङ्कलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर सङ्कलन गरेको सेनानी थापाले जानकारी दिए ।
टोलीले सङ्कलन गरेको कुहिने फोहोर मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए ।
फोहोर सङ्कलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहोर बुझाएको छ भने अन्य नकुहिने फोहोर काठमाण्डौ लगिएको सेनानी थापाले बताउनु भयो ।
सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।