२३ जेठ, एजेन्सी ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वका धनी सात मुलुक ग्रुप अफ सेभन (जी ७) का नेताहरूलाई सन् २०२२ को अन्त्यसम्म संसारका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउन भनेका छन्।

आउने शुक्रबारदेखि ती मुलुकका नेताहरूलाई बेलायतमा स्वागत गर्न लागेका प्रधानमन्त्री जोनसन जी ७ को सम्मेलनमा आफूले विश्वका नेताबाट विश्वभरि खोप पु¥याउन प्रतिवद्धताका लागि पहल गर्ने बताएका हुन्।

कोरोना महामारीका कारण २ वर्षमा पहिलो पटक जी ७ का नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन्।

’अर्को वर्षको अन्त्यसम्म संसारका सबै मानिसहरूलाई खोप लगाउनु मेडिकल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ,’ जोनसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म जी ७ का नेताहरूलाई यो त्रासदीपूर्ण महामारीलाई अन्त्य गर्न गर्न फेरि यसलाई आउन नदिने प्रतिवद्धता जनाउन आग्रह गर्दैछु।

जर्मनी, फ्रान्स, अमेरिका, इटाली, जापान, युरोपियन युनियन र क्यानडाका नेताहरूको तीन दिने सम्मेलन दक्षिण पश्चिम बेलायतको कोर्नवालमा शुक्रबारदेखि हुँदैछ।

Scroll to Top