ओलीको प्रस्तावमा खनाल–नेपाल समूह सशङ्कित

२४ जेठ, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली २०७५ को जेठ ३ पूर्वको अवस्थामा फर्कन तयार रहेको भनेर विश्वास गरिहाल्न नसकिने नेता युवराज ज्ञवालीले बताए ।

Advertisement

उनले कुनै पनि हालतमा प्रतिनिधि सभा विघटनलाई मान्न नसकिने भन्दै यो अध्यक्ष ओलीको अर्को ‘फण्डा’ मात्रै रहेको बताए ।

ओलीको एकता आह्वानमा उल्लेख भएका ६ वटै बुँदामाथि आवश्यक छलफल गर्नुपर्ने र षड्यन्त्रमूलक ढङ्गले एकता आह्वान भएको उनको आरोप छ ।

Advertisement

उनले भने –‘यो एउटा फण्डा हो, राम्रो नियतले आएको भए त प्रतिनिधि सभा विघटनको कदम गलत हो भनेर भन्नुपर्थ्यो । देउवालाई दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्तले पनि यो षड्यन्त्रमूलक छ ।’

यस्तै खनाल–नेपाल समूहका अर्का नेता जीवनराम श्रेष्ठले सफा नियतले एकता आह्वान नभएको बताएका छन् । सबै बुँदाहरु षड्यन्त्रमूलक रहेको भन्दै उहाँले अध्यक्ष ओलीको आह्वानअनुसार अहिले नै विश्वास गरिहाल्ने ठाउँ नरहेको बताए ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले पहिलेदेखि नै संविधानलाई मास्ने काम गर्दै आएको र अहिले पनि त्यसप्रति गल्ती महसुस नगरेको भन्दै उनले यस्ता खालका षड्यन्त्रमा बहकिएर फस्न नहुने बताए ।

आफूहरु प्रतिनिधि सभा विघटनको कदमलाई मानेर कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता गर्न नसकिने भन्दै उनले आफू हार्ने भएपछि विभिन्न ‘फण्डा’ देखाउँदै आएको ओलीले यो पनि अर्को ‘फण्डा’ नै रहेको आरोप लगाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top