अवैध रुपमा अमेरिका प्रवेश नगर्न ग्वाटेमालाका नागरिकलाई उपराष्ट्रपति ह्यारिसको चेतावनी

U.S. Vice President Kamala Harris attends a bilateral meeting with Guatemala's President Alejandro Giammattei (not pictured) at the Palacio Nacional de la Cultura, during Harris' first international trip as Vice President to Guatemala and Mexico, in Guatemala City, Guatemala, June 7, 2021. REUTERS/Carlos Barria

२५ जेष्ठ, एजेन्सी ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आप्रवासनको सोचमा रहेका ग्वाटेमालाका नागरिकलाई अवैध रुपमा अमेरिका प्रवेश नगर्न सुझाव दिएकी छन्।

सत्तामा आएपछिको पहिलो विदेश भ्रमणको क्रममा ग्वाटेमाला पुगेकी उपराष्ट्रपति ह्यारिसले उत्तरको यात्रा निकै खतरनाक रहेको र यसले मानवतस्करहरुलाई मात्रै मुनाफा गर्ने बताएकी हुन्।

ह्यारिसले अवैध रुपमा अमेरिका प्रवेश गर्ने प्रयासमा सीमा क्षेत्र पुगेकाहरुलाई फर्काउन सकिने चेतावनी दिएकी छन्।

राष्ट्रपति जो बाइडेनले देशको दक्षिणी सीमाबाट बढ्दै गएको अवैध आप्रवासीको चाप कम गर्नका लागि ह्यारिसलाई जिम्मेवारी सुम्पिएका छन्।

विशेष गरि ग्वाटेमाला, होण्डूरससहितका देशबाट मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको संख्या बढ्दो क्रममा छ।

आफूले पाएको जिम्मेवारी सीमा क्षेत्रमा देखिएको समस्याको चुरो कुरा बुझेर समाधानको उपाय खोज्नु रहेको उनले बताउने गरेकी छन्। ह्यारिसको हालको भ्रमण प्रारम्भीक जानकारी संकलनका लागि रहेको उनका सहयोगीहरुले बताएका छन्।

ग्वाटेमालाका राष्ट्रपति अलेजान्ड्रो गिएमात्तेइसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिका प्रवेशका लागि हुने अवैध आप्रवासनलाई चेतावनी दिँदै भनिन्, ‘नआउनु होला, नआउनु होला।

अमेरिका आफ्नो कानून लागु गर्न र सीमा सुरक्षित गर्न प्रतिबद्ध छ।’ उनले भनिन्, ‘यदी तपाईँहरु हाम्रो सीमामा आउनु भयो भने फर्काइने छ।’

लामो समयदेखि कायम रहेको आप्रवासीसहितका समस्या समाधानका लागि अमेरिका ग्वाटेमालासँग सहकार्यका लागि तयार रहेको उपराष्ट्रपति ह्यारिसले बताएकी छन्।

सहयोगका लागि अमेरिका तयार रहेको र नागरिकहरुमा पनि सहयोग आउँदै छ है भन्ने भावना जागृत गराउनु पर्ने उनले उल्लेख गरेकी छन्।