बारामा बाल विवाहमा संलग्न तीन जना पक्राउ

बारामा बाल विवाहमा संलग्न तीन जना पक्राउ

३१ असार, बारा ।

बारामा बाल विवाह गर्ने÷गराउने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षकी एक बालिकालाई २४ वर्षका पुरुषसँग विवाह गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ का महेश सहनी र पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ठग सहनीले आपसी सहमति गरेर २४ वर्षका विशाल सहनीको बिहे १७ वर्षकी बालिकासँग गराएका थिए ।

गएको १७ गते भुटनदेवी मन्दिरमा बिहे गराएको सूचना पाएपछि प्रहरीले तीनै जना अभियुक्तलाई खोजी गरिरहेकोमा हिजो पक्रन सफल भएको जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । यस्तै पर्सा जिल्लाका विभिन्न ठाउँमा २० वर्ष पूरा नभएका युवायुवतीले बालविवाह गर्ने तथा अभिभावकहरूले गराउने गरेको भन्ने जानकारी आएकोमा गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।

बालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी पाएमा तत्काल खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.