विराटनगर,असार २५
मजदुरको तलब बृद्धिको निर्णय अवैज्ञानिक र आधारहीन रहेको सुनसरी मोरङका उद्योगिहरुले दाबी गरेका छन । काठमाण्डौलाई केन्द्रीत गरि गर्न लागिएको पारिश्रमिक बृद्धिको निर्णयले तराई क्षेत्रका उद्योगहरु धराशायी हुने उनीहरुको दाबी छ ।
न्युनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको तलब १३ हजार ४ सय ५० कायम गर्न सरकारलाई सिफारिस गरेपछि सुनसरी–मोरङ औद्योगिक करीडोरका उद्योगी ब्यवसायी सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । उद्योग संगठन मोरङको अगुवाईमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने उद्योग संगठन र मोरङ ब्यापार संघका पदाधिकारीले अवैज्ञानिक र हचुवाको भरमा पारिश्रमिक निर्धारण गरिएको दाबी गरेका छन् ।
यसअघि ९ हजार ७ सय रहेको पारिश्रमिक एकैपटक १३ हजार ४ सय पु¥याउदा उद्योग संचालकहरु मारमा पर्ने र उद्योग संचालन गर्न नसक्ने अवस्थाको सृजना हुने उद्योगिहरुको दाबी छ । उनिहरुले निर्णय लिने क्रममा सबभन्दा बढी उद्योग र श्रमिकहरु रहेको सुनसरी–मोरङ र बिरगंज पर्सा औधोगिक करीडोरमा भएका ब्यापारिक र औद्योगिक प्रतिनिधिलाई पाखा लगाइएको गुनासो समेत गरेका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले महंगी बृद्धिको सम्बन्धमा राष्ट्र बैंकले जारी गर्ने तथ्यांकमा समेत दुई बर्षयता साढे ८ प्रतिशत मात्र महंगी बृद्धि भएको अवस्थामा एकैचोटी अप्रत्याशित पारिश्रमिक बृद्धिले उद्योगहरु धराशायी हुने उनले बताए । उनले १३ हजार ४ सय ५० रुपैया पारिश्रमिक बृद्धि गरिए त्यो बिगतको भन्दा ३८ दशमलव ६६ प्रतिशत हुने र त्यसमा सामाजिक सुरक्षा,बोनस,दशैँबिदा र अन्य सुविधाहरु समेत जोडे ६० प्रतिशत बढी पारिश्रमिक बृद्धि हुने बताए । यसरी अप्रत्याशित गरिने बृद्धिले उद्योगहरु धराशायी हुने उनको दाबी छ ।
यसअघिका पारिश्रमिक बृद्धिको निर्णयमा मोरङ र बिरगंजका उद्योग सम्बद्ध पदाधिकारीलाई सहभागि गराउने गरिएपनि विगत दुई बर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघले आफुहरुलाई जानकारी नै नदिई एकतर्फी निर्णय गर्ने गरेको उनको भनाई छ । महासंघको वर्तमान कार्यसमितिले उद्योगीको हित विपरीत एकतर्फी निर्णयमा सर्मथन जनाएको समेत उद्योगीहरुले आरोप लगाएका छन् ।