२४ भदौ, काठमाडौँ ।
बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष फातिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने भएको छ । उनले आजै दिउँसो प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न भक्तपुर बालकोटस्थित निवासमा पुग्ने बताइएको छ ।
उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको उक्त टोली ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।
भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।
नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् । नेपाल आइपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ ।
कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।