२ असाेज, काठमाडौं ।
कक्षा १२ को परीक्षामा व्यस्त रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।
परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।
शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । ट्रु कलरमा देखायो, ‘केपी शर्मा ओली इज कलिङ…’
ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराएकी छन् । साथै उनले आफूलाई विश्वास नलागेको उल्लेख गरेकी छन् ।
‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’ उनले ओलीलाई बुवाको सम्बोधन गर्दै लेखेकी छन्, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’

करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेय गरेकी छिन् ।
यस्ताे छ करिश्माकाे फेसबुक स्टाटस:
फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।
‘करिश्मा परीक्षा कस्तो भैरहेको छ ?’
‘हजुर ठिक छ सर, तपाई केपी ओली ?’
‘अँ हो, विश्वास लागेन ?’
‘लागेन सर ।’
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।









