विराटनगर, साउन १०
श्रम कार्यालय विराटनगरमा उद्योग र कलकारखानाका समस्या लिएर आउने बढी देखिएका छन् । त्यसमा पनि व्यक्तिगत समस्या बढी आउने गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्म कार्यालयमा ७० वटा व्यक्तिगत उजुरी परेको छ । त्यसमा ६१ वटा उद्योगका छन् । कार्यालय प्रमुख मनिनाथ गोपका अनुसार ग्रेड रोक्का, कामबाट वञ्चित गरेको, ऐनले तोकेको पारिश्रमिक नदिएको जस्ता उजुरी पर्ने गरेका छन् ।
७० मध्ये कार्यालयको समन्वयमा ६३ वटा मिलाइएको उनले बताए । “कार्यालयमा पर्ने उजुरीमध्ये अधिकांश उद्योग र कलकारखानाकै छन्,” गोपले भने, “सकेसम्म रोजगारदाता र श्रमिकलाई राखेर मिलाउने गरेका छौं ।”
७० मध्ये ६३ उद्योग, २ वटा शैक्षिक, ३ वटा स्वास्थ्य, १ बिमा र ३ वटा घरायासी श्रमसम्बन्धी उजरी परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सामूहिक उजरी भने १६ वटा परेको थियो । जसमा १५ वटा भने मिलाइएको उनले जनाए ।
नमिलेको अदालती प्रक्रियाबाट टुंगो लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा ४६ वटा व्यक्तिगत उजरी परेमा ३८ वटाको मिलापत्र भएको थियो । सामूहिक २३ वटा उजरी परेको थियो । जसमध्ये २१ वटा मिलाइएको कार्यालय नासु शालिग्राम कोइरालाले जानकारी गराए ।
कार्यालय प्रमुख गोप श्रम ऐन कार्यान्वयन गराउन निकै चुनौती गरेको बताए । अझै पनि मजदुरहरु न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको उनको भनाइ छ ।
निजी अस्पताल, डिपार्टमेन्टल स्टोर, किराना पसल, निजी विद्यालयलगायतमा श्रम शोषण निकै रहेको गोपले बताए । “कार्यालयले श्रम ऐन कार्यान्वयन भए नभएको नियमित अनुगमन गरिरहेको छ,” उनले भने, “तर, अवस्था निकै जटिल छ ।”