दशैंघरमा आज बन्दुक पड्काएर जमरा राखियो

२१ असाेज, काठमाडाैँ ।
आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । देशैभर हिन्दूधर्मावलम्बीहरुले आ-आफ्नो घरमा जमरा राखेर दशैँको शुरुवात गर्दछन् । (आज) बिहीबार बाट हरेक दिन दुर्गा भवानीको पूजाआराधना गरी दुर्गा सप्तशती चण्डी तथा देवी भागवत पाठ गरेर नवदुर्गाको आराधना गरिन्छ ।

काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत घटस्थापनाको शुभ साइत बिहीबार बिहान (११ः४६) मा जमरा राखेर घटस्थापन गरिएको छ । घटस्थापन गर्दा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ गरेको छ । हनुमान ढोकाका पुजारी सुदिप लामिछानेले हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रुपमा जमरा राखेको बताए ।

Advertisement

उनले जौ, विधिको लागि मकै र गहुँ मिसाएर बालुवा र चोखो माटोमा जमरा राखिएको बताए । उनले भने, ‘विशेष गरी बडा दशैँको पहिलो दिनमा घटस्थापना नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइतमा हामीले अनुष्ठान गरेर वैदिक कर्महरुको विधिपूर्वक जमरा राखिएको छ, पहिलादेखि नै चलेको कामलाई निरन्तर्ता दिएको हो , घटस्थापनाको साइतमा एउटा घडा स्थापना गरी नवौँदिनसम्म अनुष्ठान गरी मनाइन्छ । यसमा विशेष जौ, विधिको लागि मकै र गहुँ राख्ने गरिन्छ ।’

Advertisement

हरेक वर्ष घटस्थापनाको दिन दशैँ घरमा जमरा राख्ने गरिन्छ । बिहीबार नवरात्रीको पहिलो दिन भएकोले शैलपुत्रीको पूजा आराधना गरेर नवरात्रीको शुरुवात गरिएको छ । नवरात्रीभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ ।

त्यस्तै विजया दशमीको दिन देवी विसर्जन गरी १० बजेर २ मिनेटमा देवीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ । विजया दशमीका दिन भगवान श्रीरामले नवरात्र व्रत गरी रावणमाथि विजय पाएको उत्सवका रुपमा मनाउन थालिएको भन्ने गरिएको छ भने कसैले राक्षसहरुमाथि दुर्गा देवीको विजयोत्सवको रुपमा मनाउने प्रचलन छ । दशैँको दिन आफूभन्दा ठूलाबडा मान्यजनहरुबाट टीका र जमरा लगाइ आशिर्वाद लिने चलन छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top