राजसंस्थाविनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

२६ असोज २०७८, मंगलबार
Share this
734shares

२६ असाेज, काठमाडौँ।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको बताएका छन् । विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

पूर्वराजा शाहले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’

उनले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन ।’ लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको उनको भनाइ छ ।

Advertisement

उनले प्रश्न गरेका छन्, ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै उनले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म-संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित हनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सु्रक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उनले बताएका छन् । पूर्वराजाले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन र त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजिदैन ।’

Advertisement

सन्देशमा उनले भनेका छन्, ‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ । जय नेपाल ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top