विराटनगर, साउन १५
नक्कली औषधिको कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले विराटनगरबाट तीनजना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले आइतबार मध्यरातमा विभिन्न पाँचवटा औषधि पसलमा छापा मारेर २ जना सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
आइतबार दिउँसो प्रहरीले औषधि बिक्रेता धरान–४ घर भई भारत सिलीगुडीमा औषधि व्यापार गर्ने जीवन अग्रवाललाई नियन्त्रणमा लिएपछि विराटनगरसहित अन्यक्षेत्रमा नक्कली औषधि कारोबार हुने गरेको रहस्य खुलेको थियो ।
अग्रवाल पक्राउ परेपछि अनुसन्धान गरेको प्रहरीले अग्रवालले नक्कली र नेपालमा स्वीकृत नभएका औषधि सप्लाई गर्दै आएको फार्मेसीहरुमा छापा मारेको थियो ।
प्रहरीले न्यूरो अस्पतालभित्र सञ्चालित लाइफ सर्पोट फार्मेसी, विराट मेडिकल कलेजमा सञ्चालित विराट फार्मेसी, म्याक्स अस्पतालमा सञ्चालित म्याक्स फार्मेसी, गोल्डेन अस्पतालमा सञ्चालित गोल्डेन फार्मेसी र विराट नर्सिङहोममा सञ्चालित फार्मेसीमा छापा मारेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
सो क्रममा औषधि व्यवसायीहरु विराटनगर–१० का दीपककुमार राय र सप्तरी महुली–५ का प्रशान्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छापा मार्ने क्रममा बरामद भएका औषधिसहित प्रहरीले तीनैजनालाई थप अनुसन्धानका लागि औषधि ब्यवस्था विभागमा पठाउने जनाइएको छ । अनुसन्धानको क्रममा एउटा औषधिमा अर्कै लेबल लगाएर बेच्ने गरिएको खुलेपछि प्रहरीले औषधि पसलहरुमा छापा मारेको हो ।