८ कात्तिक, काठमाडौं ।
विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइने भएकाे छ ।
चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले ताेकेकाे मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइने भएकाे हाे ।
अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई कार्यक्रम खर्चमा राखि सञ्चालन गर्न नपाइने र कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ता जस्ता खर्चमा समेत लेख्न नपाइने गरी अर्थले मापदण्ड तोकेको छ ।
त्यस्तै प्रोत्साहन भत्ता, अतिरिक्त काम गरे वापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता तथा खाना खाजा लगायत शीर्षकमा कुनै पनि प्रकारको भत्ता प्रदान नगरिने उल्लेख छ ।

