१६ कात्तिक, काठमाडाैँ ।
स्पन्ज आईरनमा लगाउँदै आएको भन्सार दर हटाउने र आयातित बिलेटमा अन्तशुल्क बढाउने निर्णय तत्काल फिर्ता लिन सरकारमाथि तीव्र दवाव परेको छ । स्टिल व्यवसायीहरुले तत्काल सो निर्णय सरकारले फिर्ता नलिए नेपालमा रहेका ३० वटा मध्ये २४ वटा स्वदेशी स्टिल उद्योग ६ महिना भित्र बन्द हुने चेतावनी समेत दिएका छन् ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै साखः स्टिलम प्रालिका प्रबन्ध निर्देशक किरण प्रकाश साखः र पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले ६ वटा उद्योगलाई मात्रै केन्द्रित गरेर स्पन्ज आईरनमा लगाउँदै आएको भन्सार दर हटाउने सरकारको निर्णय देशको हितमा नहुने भन्दै मान्य नहुने चेतावनी दिएका छन् । साखः स्टिलका प्रबन्ध निर्देशक किरण प्रकाश साखःले यो निर्णय जति छिटो करेक्सन भयो, उतिलाई राष्ट्रलाई फाईदा हुने बताए । उनले सो निर्णय करेक्न हुने तर ढिलाई भए मुलुकका सबैजसो स्टिल उद्योग ६ महिना भित्र बन्द हुने चेतावनी समेत दिए। उनले भने, ‘हामी दावाका साथ भन्छौ–यो देश यही पोलिसीमा रहन सक्दैसक्दैन । यो करेक्शन हुन्छ, हुनुपर्छ । कहिले हुन्छ, त्यो थाहा भएन । अव ६ महिनामा पनि करेन्सन नहुने हो भने त्यो बेला हामी सबै मरिसकेका हुनेछौं । यो करेक्सन नभई मुलुकको अर्थमन्त्री स्मुथ्ली जानै सक्दैन । यो चाँडोभन्दा चाँडो करेक्सन हुन जरुरी छ ।’
पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक श्रेष्ठले सरकारको सो निर्णयले डेढ महिना भित्रमा ४ वटा स्टिल उद्योग बन्द भईसकेको समितिलाई जानकारी गराए। अव २ वटा उद्योग पनि बन्द हुने अवस्था रहेको उल्लेख गर्दै उनले पूराना कच्चा पदार्थहरु भएका उद्योगहरु जेनतेन गरेर हाललाई चलिरहेको बताए । प्रबन्ध निर्देशक श्रेष्ठले खर्बौं लगानीका स्टिल उद्योगहरु बन्द गराउने गरी सरकार निर्णय लिएकाले त्यसलाई सच्याउन सम्बन्धित निकायहरुसँग गुहार माग्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे । उनले भने, ‘२४ वटा उद्योगमध्ये ४ वटा उद्योग बन्द भईसकेको अवस्था छ । अरु २ वटा स्टिल उद्योग बन्द हुने अवस्था छ । अव पूराना र मेटिरियल्स भएको उद्योगहरु जेनतेन गरेर चलाउनुपर्ने बाध्यात्मक अवस्था छ ।’
यता, समितिका सदस्यहरुले पनि स्वदेशी उद्योगलाई बन्द गराउने गरी सरकारले निर्णय गर्न नमिल्ने उल्लेख गर्दै सो सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल तत्काल गर्नुपर्ने बताएका छन् । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले लगाएको अन्तशुल्क घटाउने पाउने व्यवस्था रहेको उल्लेख गर्दै तत्सम्बन्धमा तत्काल अर्थ मन्त्रालयसँग छलफल गरेर समितिले आवश्यक निर्देशन दिनुपर्ने बताए। समितिका अर्का सदस्य श्यामकुमार श्रेष्ठले पनि सो सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरेर नेपालको स्वदेशी उद्योगलाई अन्याय गर्न समितिले दिन नहुने धारणा राखे । समितिका सदस्यहरुले स्वदेशी उद्योगलाई धराशायी बनाउने सरकारका कुनै पनि निर्णय मान्य नहुने चेतावनी समेत दिएका छन ।

