Nepal Times
Nepal Times
3
Shares

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा, दयाहाङकाे मुख्य भूमिका

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा, दयाहाङकाे मुख्य भूमिका

७ मंसिर, काठमाडाैँ ।

चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् । निर्देशक नविन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो ।

चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन आफ्नो इमानदार प्रयास हुने बताए ।

उनले भने– ‘म लामो समयपछि निर्देशनमा फर्किएको छु । चलचित्र भयंकर राम्रो बनाउँछु भनेर दाबी त गर्दिनँ तर नराम्रो पनि बनाउने छैन । स्क्रिप्टबाट म सन्तुष्ट छु । अहिले हामी कलाकारसँँग बसेर चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छौं । चलचित्रले नेपाली समाजको यथार्थलाई पस्किनेछ ।’

त्यस्तै, नायक दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । करिअरको सुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिचलचित्र ‘दलन’ मा काम गरेको स्मरण गर्दै उनले लामो समयपछि चलचित्रमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । अभिनेत्री पशुपति राईले पनि निर्देशक सुब्बासँँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताइन् ।

यो चलचित्र छायांकनको जिम्मा निर्देशक सुब्बाले अमेरिकाका छायाँकार मार्किन कापरोनलाई दिने भएका छन् । नेपाली छायाँकारहरु भन्दा विदेशी छायाँकार सँग काम गर्न सजिलो भएकोले अमेरिकाबाट छायाँकार ल्याएको निर्देशक सुब्बाले बताए ।

चलचित्रको स्क्रिप्ट महेश राई र नविन सुब्बाको रहेको छ भने मुख्य निर्मातामा अमोद राई रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह–निर्मातामा रहेकाछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.