Nepal Times
Nepal Times
3
Shares

भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने

भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने

१२ मंसिर, विराटनगर । विश्वव्यापी रुपान्तरणका सवालमा हिमालयन जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा जैविक विविधता सम्बन्धी तीन दिवसीय अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको आयोजना हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभाग र यसको भूतपूर्व विद्यार्थी समाजले आयोजना गर्ने यो सम्मेलन भर्चुअल माध्यमबाट मंसिर १३ देखि सुरु हुने छ ।

उक्त सम्मेलनमा नेपाल लगायत स्वीजरल्याण्ड, जर्मनी, संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, क्यानाडा लगायतका देशका जीव वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यो सम्मेलनमा खास गरेर प्राणीविज्ञानका क्षेत्रमा कार्य गर्ने वैज्ञानिक, प्राध्यापक, अनुसन्धाता, विद्यार्थी र सरकारी स्तरमा रहेका नीति निर्मातालाई समेत एकै छानामुनि एकीकृत गरी प्राणी विज्ञानमा भएका उपलब्धी र यसले मानव समाजलाई दिएको योगदानको बहस गरिने आयोजक संस्था प्राणी शास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर तेजबहादुर थापाले जानकारी दिए ।

जैविक विविधताका विविध आयाम, पारिस्थितिक प्रणालीको योगदान, जैविक विविधता संरक्षण नीति एवम् अन्य प्रयासहरु, सबै जीवहरुको साझा बासोबास र स्वास्थ्यको सवाल, विश्वको प्रकृतिमा आएको परिवर्तन र यसको प्राकृतिक समाधान, प्राणी विज्ञान र यसको उपदेयिता जस्ता विषयवस्तु केन्द्रित कार्यपत्रहरु सम्मेलनमा प्रस्तुत हुने प्राडा थापाले बताए ।

हिमालयन जैविक विविधता विश्वमा नै अनौठो र महत्वपूर्ण भएको हिसाबले यसलाई उजागर गर्न र प्राणी विज्ञानको महत्व दर्शाउन यस वर्षको सम्मेलनले जोड दिएको छ ।

हाल भइरहेका प्राकृतिक तथा मानव सिर्जित विविध गतिविधिले हिमालय क्षेत्र र त्यहाँको जैविक विविधतामा प्रतिकूल असर परिरहेको हुनाले विश्वको ध्यानाकर्षण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन् ।

प्राणी विज्ञानलाई मध्यनजर गरी नेपालमा आयोजना गरिएको यो दोश्रो अन्तर्राष्ट्रिय वैज्ञानिक भेला हो । गतवर्ष पनि प्राणी शास्त्र केन्द्रीय विभागले यस्तै सम्मेलनको आयोजना गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.