कांग्रेस महाधिवेशन: १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी, सभापतिमा ६ जना

कांग्रेस महाधिवेशन: १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी, सभापतिमा ६ जना

२५ मंसिर, काठमाडौँ ।

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । सभापति पदका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कल्याण गुरुङ, युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी पार्टीको उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सह–महामन्त्रीमा २० जनाको उम्मेदवारी परेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पार्टी उपसभापतिका लागि नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छेदार, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले उम्मेदवारी दिएका छन् ।

यसैगरी महामन्त्री पदका लागि गगन कुमार थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, डा. प्रकाश शरण महत, डा.राजाराम कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सह–महामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गङ्गा सुनुवार, महेन्द्र यादव, भीष्मराज आङ्दाम्बे, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी र डिना उपाध्यायको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टीको केन्द्रीय सदस्यका लागि खुल्ला तर्फ १ सय ९ जनाको उम्मेदवारी परेको छ भने थारू क्लस्टरमा १४ जनाको र मधेसी क्लस्टरमा ३२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी आदिवासी जनजाति क्लस्टरमा ८७ जना, खस–आर्य क्लस्टरमा ९३ जना, दलित क्लस्टरमा ३९ जना र महिला क्लस्टरमा ३१ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यका लागि पिछडिएको क्षेत्र क्लस्टरमा २ जना, अपाङ्ग क्लस्टरमा १६ जना, अल्पसङ्ख्यक क्लस्टरमा ६ जना र मुस्लिम क्लस्टरमा १६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा प्रदेश नं. १ मा १३ जना, प्रदेश नं. २ मा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ११ जना कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १२ जनाको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेसको संशोधित विधान अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था रहेको छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । जसका लागि जम्मा पाँच सय ४८ जनाको उम्मेदवारी परेको छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीको कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था रहेको नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज बिहान १० बजे देखि बेलुका ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय दिएको थियो । समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका अनुसार मनोनयन फिर्ता लिन चाहने उमेद्वारहरूका लागि भोलि बिहान ११ बजे सम्मको समय दिई भोलि मध्यान्ह १२ बजे पछि उमेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र पर्सी बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.