२२ पुस, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ ।
जनवरी १० र ११ तारिख गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो । सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो ।
गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ । भारतमा एक दिनमै ९१ हजार कोभिड संक्रमित भेटिएका छन् । गुजरातमा पनि संक्रमितहरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो ।
कार्यक्रम स्थगनको सूचना आफूहरुले पनि जानकारी पाएको दिल्लीस्थित दूतावासका एक जना अधिकारीले बताए । तर, औपचारिक कुनै जानकारी नआएको उनले उल्लेख गरे । ‘जुन कार्यक्रममा प्रधानमन्त्रीज्यू आउन लाग्नु भएको थियो, त्यो नै स्थगित भएपछि स्वतः उहाँको भ्रमण पनि रद्द हुनेछ,’ उनले भने ।
यद्यपि नेपाल वा भारत सरकारले अहिलेसम्म औपचारिक रूपमा देउवाको भारत भ्रमणबारे केही पनि जानकारी दिएको छैन । समिटका पब्लिक रिलेसन डिपार्टमेन्टका अधिकारी पंकज मादोल्करले पनि सम्मेलन स्थगित भएको र नयाँ मिति छिट्टै सार्वजनिक गरिने जानकारी दिए ।