२३ चैत, काठमाडौँ । शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट ज्यान गएको छ ।
अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली सेनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ ।
कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ ।
शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै उनले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरेका छन् ।


