१३ वैशाख, विराटनगर ।
नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उमपेयरमा उम्मेद्वारी दिएकी शिल्पा निराला कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुशार अहिलेसम्म कार्कीसहित ४ जनाविरुद्ध उजुरी परेको हो । मनोनयन दर्ताको अन्तिम दिन मंगलबार उम्मेद्वारी दर्ता गराएकी कार्कीविरुद्ध पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका जनता समाजवादीका अमरेन्द्र यादवले उजुरी दर्ता गरेका हुन् ।
यादवले उपमेयरकी उम्मेद्वार कार्कीले विराटनगरस्थित कोशी अस्पताल विकास समितिको सदस्य भएर सरकारी सेवा सुविधा लिइरहेको भन्दै उनको उम्मेदवारी रद्ध गर्न माग गरेका छन् ।
उजुरीपछि उपमेयरकी उम्मेद्वार कार्कीले भने आफूले मनोनयन अघि नै अस्पताल विकास समितिका अध्यक्षलाई सदस्यबाट राजीनामा बुझाईसकेको बताएकी छिन् ।
उनले आफूले अस्पताल विकास समितिको सदस्य रहँदा अहिलेसम्म कुनैपनि सेवा सुविधा र भत्ता समेत नलिएको बताएकी छिन् । यस्तै आज वडा नम्बर ८ की दलित महिला सदस्य निशा मुखिया वडा नम्बर १३ की गैरी देव र वडा नम्बर ८ मै दलित महिला सदस्यमा उम्मेद्वारी दिएकी अस्मिता सहनीविरुद्ध पनि उजुरी परेको छ ।
निर्वाचन कार्यक्रम अनुशार आज मंगलबार उम्मेद्वारका विषयमा उजुरी आह्वान गरिएको छ भने बुधबार र विहीबार त्यसको जाँच गरी निर्णय निर्णय गर्ने तालिका छ । निर्वाचन आयोगले वैशाख १७ गते भने उम्मेद्वारलाई निर्वाचन चिन्ह दिनेछ ।