एजेन्सी,भदौ २
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।
अन्नान केही समयदेखि सामान्य बिरामी थिए । सामान्य बिरामीकै क्रममा उनको निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ । अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन थिए ।
उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए । अन्नान घानाका भएपनि यनको निधन भने स्विट्जरल्यान्डको जेनेभामा भएको छ, जहाँ उनी वर्षौंदेखि बस्दै आएका थिए । विश्वमा शान्ति स्थापनार्थ भूमिका खेलेको भन्दै अन्नान सन् २००१ को नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका थिए ।