काठमाडौँ,भदौ ३
अर्को महिनाको अन्तिममा भुटानमा हुने साफ यु–१८ महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकाले नखेल्ने भएको छ । श्रीलंका नखेल्ने भएपछि समूह विभाजन र खेल तालिकासमेत परिवर्तन भएको छ ।
प्रतियोगिताबाट श्रीलंकाले नखेल्ने निर्णय गरेसँगै दक्षिण एसियाली फुटबल फेडेरेसनले शनिबार नयाँ समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ समूहमा भारत, माल्दिभ्स र भुटान समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा नेपाल, बंगलादेश र पाकिस्तान रहेका छन् ।
साफ यु–१८ महिला साफ च्याम्पियनसिपका खेलहरु २८ सेप्टेम्बरबाट ७ अक्टोबरमा सम्म भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा हुनेछ । २८ सेप्टेम्बर पाकिस्तानसँग खेल्दै नेपालले च्याम्पियनसिपको शुरुवात गर्नेछ । २ अक्टोबरमा नेपालले बंगलादेशसँग खेल्नेछ ।
यसअघि समूह ‘ए’ मा तीन टोली भारत, श्रीलंका र माल्दिभ्स रहेका थिए । समूह ‘बी’ मा भने चार राष्ट्र नेपाल, बंगलादेश, भुटान र पाकिस्तान रहेका थिए ।