एजेन्सी,भदौ ३
स्पेनिस लिगमा शनिबार भएको खेलमा कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले पहिलो खेलमा डेपोर्टिभो अलाभेसलाई ३–० ले हराउने क्रममा सबै गोल दोस्रो हाफमा सम्भव भए ।
बार्सिलोनालाई कप्तान मेसीले ६४ मिनेटमा नयाँ सिजनको पहिलो गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए । पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर रहेको फ्रिकिकलाई उनले चलाखीपूर्ण ढङ्गले गोलमा परिणत गरेका थिए ।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले ८३ हौं मिनेटमा अग्रता दोब्बर पारे । उनले लिगमा डेब्यु गरिरहेका आर्थरको पासमा गोल गरेका थिए । त्यसपछि मेसीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० ले जित दिलाउन सफल भए । साविक विजेता बार्सिलोनाले यसपटक लिग उपाधि रक्षा गर्ने सुरमा ४ खेलाडी भित्र्याएको छ ।