एजेन्सी,भदौ ३
फ्रेन्च लिग वान फुटबलमा नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग दोस्रो जित दर्ता गरेको छ । गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १ गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को जित निकालेको हो ।
पीएसजीलाई जित दिलाउने क्रममा युवा स्टार केलियन एमबाप्पेले दुई तथा नेयमारले एक गोल गरे । घरेलु मैदानमा गुइनग्याम्पको लागि २० औं मिनेटमा नोलान रुक्सले गोल गर्दै अग्रता बनाएका थिए। एक गोलले पछि परेपछि पीएसजीले आक्रमक खेल्दै ५३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सफल भएको थियो ।
नेयमारलाई डि–बक्समा लडाएपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसलाई नेयमार आफैले गोलमा परिणत गरेका थिए । लिग वानको दोस्रो खेलमा नेयमारको यो दोस्रो गोल हो । यसअघि पहिलो खेलम पनि नेयमारले गोल गर्न सफल भएका थिए ।
त्यस्तै दोस्रो हाफमा टिमोथी वेहको स्थानमा मैदान छिरेका एमबमप्पेले ८२ औं मिनेटमा एन्जल डि मारियाको पासलाई गोलमा परिणत गरेपछि पीएसजीले खेलमा २–१ कोे अग्रता बनायो । फेरी ९० औं मिनेटमा नेयमारको पासलाई एमबाप्पेले गोलमा परिणत गर्दै टिमलाई ३–१ को सहज जित दिलाए ।लगातार दोस्रो जितसँगै पिएसजी ६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ ।