काठमाडौं,भदौ ३
दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्ने स्थानीयले दिएको सेयर आवेदनबाट २ अर्ब रूपैयाँ संकलन भएको छ । गत शुक्रबारसम्म १८ दिनको अविधमा आयोजनामा लगानी गर्न १ लाख दोलखालीले आवेदन दिएको सेयर निष्कासनकर्ता सनराइज क्यापिटलका प्रबन्धक ब्रिजेन्द्र प्रधानले बताए ।
कम्पनीले गत साउन १६ गतेबाट दोलखालीका लागि छुट्याइएको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको छ । प्रतिकित्ता सय रुपैयाँ अंकित १ अर्ब ५ करोड ९० लाख रुपैयाँ मूल्यको सेयर खरिद गर्न न्युनतम ३० देखि अधिकतम ३ सय कित्ताका लागि आगामी भदौ १४ गतेसम्म आवेदन खुल्ला गरिएको छ ।
जिल्लास्थित विभिन्न बैंकका २६ शाखामा आवेदन केन्द्र तोकिएको यसको बैंक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिएको छ । स्थानीयलाई आउजाउ गर्न कठिनाई हुने दुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलनको व्यवस्था गरिएको छ । (ऊर्जा खबर)