प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएपछि मन्त्रालयका प्रगति तथा उपलब्धिबारे अनुगमन गर्ने भएको छ ।आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई र्‘यापिड अपरेसन’ भनेको छ ।महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए ।
मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने ।सेवाग्राहीको बाक्लो उपस्थिति हुने मन्त्रालय र निकायका हकमा भने नियमित रूपमा प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले अनुगमन हुने गरेको छ ।
त्यस्ता निकायमा प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र र अन्य निकायमार्फत नियमितजसो अनुगमन हुने गरेको सचिव अधिकारीले बताए ।