Nepal Times
Nepal Times
3
Shares

अशोक दर्जीले पाए २८ लाखको घर

अशोक दर्जीले पाए २८ लाखको घर

विराटनगर,भदौ ४

चर्चामा रहेका झापा दमकका बाल गायक अशोक दर्जीका लागि सहयोग जुटाएर निर्माण गरिएको घर एक भव्य कार्यक्रमबीच चर्चित कलाकार हरिवंश आचार्यले आज हस्तान्तरण गरेका छन । उद्घाटन् कार्यक्रममा बोल्दै कलाकार आचार्यले लुगा सिलाउने परम्परागत पेशामा गनिने दर्जी जातका अशोकको गायकीले जातीय विभेदलाई पनि पर हटाएर नेपालीहरुको मन सिलाएर जोडेको बताए ।

दमक चोकमा भएको उद्घाटन् समारोहमा दमक नगर प्रमुख रोमनाथ ओलीले अशोकको चर्चित गीत ‘धनविनाको मन ठूलोकी मन विनाको धन’ गाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । चोकको औपचारिक सांगीतिक कार्यक्रमपछि फुलमालाले सजाइएको गाडीमा राखेर अशोकका बुबा, आमा, दिदी र वहिनीहरुलाई ठूलो संख्यामा स्थानीयको साथमा घर भित्र्याउने काम भएको थियो ।

दमक २ स्थित भालुखुँडीको कट्टेल टोलमा गायक तथा संगीतकार टंक बुढाथोकी र उर्लावारीका समाजसेवी पूर्ण वाइवाको अगुवाईमा सहयोग संकलन गरेर घर बनाइएको हो । घडेरी किनेर ४ कोठे इँटाको गाह्रो र टिनको छानो भएको घर समेत गरी निर्माणमा २८ लाख ८५ हजार रुपैयाँ खर्च भएको घर निर्माण समिति कोषाध्यक्ष डीजे रुपकले जानकारी दिए ।

कार्यक्रममा, कलाकार हरिवंश आचार्यका साथै चलचित्र निर्देशक सोभित वस्नेत, लोकगायक एलपी जोशी लगायतले विपन्न परिवारमा भएको प्रतिभाले ठूलो मन भएका नेपालीहरुका कारण सम्मान पाएको उल्लेख गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.