Nepal Times
Nepal Times
3
Shares

डोटीका ३ पालिकामा मदिरा निषेध, बिक्री तथा सेवन गर्नेलाई ढुङ्गा बोकाइने

डोटीका ३ पालिकामा मदिरा निषेध, बिक्री तथा सेवन गर्नेलाई ढुङ्गा बोकाइने

५ साउन, डोटी । डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् ।

केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ ।

यस वडामा कसैले जाँड–रक्सी खाएको पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए ।

वडामा जाँड–रक्सी वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपछि यो निर्णय गरिएको हो ।

यसैगरी यस वडामा सञ्चालन हुने गाडीमा जाँड–रक्सी ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ’होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

यसैगरी डोटीकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गणेश खड्काले जाँड–रक्सी बिक्री र ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसैगरी जाँड–रक्सी खानेलाई पहिलो पटक दुई हजार पाँच सय र दोस्रो पटक खानेलाई पाँच हजार रुपैयाँ जरिबाना तोक्ने निर्णय गरिएको छ ।

सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए ।

डोटीमा नौ वटा पालिका रहे पनि अन्य पालिकामा भने जाँड–रक्सी बिक्री वितरण, ओसारपसार तथा खानेलाई कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

कतिपय पालिकामा लाइसेन्स लिएर जाँड–रक्सी बिक्री, वितरण भइरहेकाले तिनीहरूलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी खड्काले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.