५ साउन, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।बलियो केन्द्रिय सरकार र स्थानीय सरकार थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताए ।
उनले भने,‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ, प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’
राप्रपा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए ।अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरुबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताए । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दावी समेत गरे ।