Nepal Times
Nepal Times
252
Shares

माधव नेपालले ५ वर्षपछि राजनीतिबाट बिदा लिने

माधव नेपालले ५ वर्षपछि राजनीतिबाट बिदा लिने

२० साउन ,काठमाण्डौ ।

शीर्ष नेता तथा पूर्व र हालका प्रधानमन्त्रीसहित ६ नेताको तस्बिर राखेर उनीहरुलाई पुनः जिताउन नहुने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको बेला त्यही तस्विरमा समेटिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ५ वर्षपछि राजनीतिबाट विदा दिने संकेत गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन् । उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे ।

उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए । उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए । अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने पनि उद्घोष गरे । २०६४ र २०७० को निर्वाचनमा उनी रौतहट १ र काठमाडौं २ बाट पनि निर्वाचनमा होमिएका थिए ।

नेपालले ०६४ को निर्वाचनमा दुवै क्षेत्रबाट पराजय बेहोरेका थिए । ०७० को निर्वाचनमा भने परिणाम उल्ट्याएर दुवै क्षेत्रबाट निर्वाचित भए । २०७४ को निर्वाचनाबाट एक क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था भएपछि उनले रौतहट छाडेर काठमाडौं २ रोजे । तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट उनी निर्वाचित भएका थिए ।

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेको हो, जुन पार्टीको नेतृत्व नेता नेपालले गरिरहेका छन् । नेकपा एमाले विभाजन भएपश्चात बनेको यो पार्टीले स्थानीय निर्वाचनको भने गठबन्धनमा जोडिएर भाग लिएको छ । तर, सबै स्थानीय तहमा उमेदवारी नदिएको र धेरै ठाउँमा गठबन्धनका अन्य दलका उमेदवारलाई सघाएका कारण यो दलको वास्तविक मत यति नै हो भन्न सक्ने अवस्था छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.