२३ साउन,काठमाण्डौ ।
असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नायब सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।
आईतवार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् । यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए ।
उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलवमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको आरोप लगाए ।
नायव सुब्बा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं = गोविन्दप्रसाद कोइराला
नासुहरुले सरकारले चोर बाटोबाट तलव वृद्धि गरेको भन्दै समान तलववृद्धिको माग गर्न अर्थमन्त्रालय घेराउ गर्नुपरेको बताएका छन् । नायब सुब्बा बचाउ अभियानले आन्दोलनलाई तीव्रता दिएको हो । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताएका छन् ।
सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए । साथै मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।