२३ साउन, काठमाण्डौ ।
पछिल्लो समय कानून कार्यान्वयनमा जोड दिदै आएको काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालको संचरना भत्काउन सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिकाले सम्झौता विपरीत र नक्सा पास नगरी बनाइएको नर्भिक अस्पतालको संरचना भत्काउन सूचना जारी गरेको हो ।मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा भत्काउन भनेको हो ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह काठमाडौ महानगरपालिका र संघीय मन्त्रालयहरुले जारी गरेका ऐन नियम तथा विद्यमान प्रावधान विपरित भएका गरेका विथितिहरुविरुद्ध एक्शनमा उत्रिदै आएका छन् ।
केही समय अघि मात्रै पनि विभिन्न स्थानको अनुगमन गर्दै मेयर साहले पार्किङका लागि छुट्याईएको स्थलमा त्यसको उपयोग अन्य प्रयोजनका लागि गरिएको पाइएपछि तत्काल सम्झौता वमोजिमको काम कार्यान्वयन गर्न ब्यापारिक भवनहरुलाई निर्देशन दिएका थिए ।
मेयर साहले काठमाडौंका सडकहरुमा आवातजावतका लागि अवरोध हुने गरी राखिएका व्यापारिक कारोवारका पसलहरु भने अझै हटाउन सकेका छै्रनन् । फुटपाथमा राखिएका सडक पसलहरु नगर प्रहरीले जवरजस्ती हटाएपछि मेयर साह र महानगरको जनस्तरबाट समेत ब्यापक विरोध भएपछि महानगर यो कदमबाट भने पछि हटेको छ । यद्यपि मेयर साह आफै विभिन्न स्थानमा पुगी सडकमा गरिने कारोवार सारेर सटरमा लैजान आग्रह गर्दै आएका छन् ।