२६ साउन, काठमाण्डौ ।
नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोग गर्दा पालना गर्नुपर्ने आठबुँदे आचारसंहिता जारी गरेको छ । सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम प्रयोग गर्दा काउन्सिलको नियमावली, २०२४ मा रहेको प्रावधानभित्र रहेर गर्नुपर्ने काउन्सिलले जनाएको छ ।
आचारसंहिताअन्तर्गत चिकित्सकहरूले अनलाइन परामर्श दिँदा अनिवार्य अभिलेख राख्नुपर्नेे, सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्न पाइने आचारसंहितामा उल्लेख छ ।
यस्तै, सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने संभव भएसम्म त्यसको स्रोतको पनि जानकारी दिनुपर्ने छ । बिरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा बिरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्नेछ ।
विरामीको पहिचान खुल्ने गरी भिडियो वा तस्विर सामाजिक संजालमा राख्न पाइने छैन् । सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइनेजस्ता बुँदा आचारसंहितामा छन् ।
चिकित्सकले सामाजिक संजालमा लेख्दा तथ्यपरक र सान्दर्भिक विषय वस्तुमात्रै लेख्नु पर्ने छ । कुनैपनि चिकित्सकले आफ्नो पदीय र पेशागत मर्यादा विपरितका अभिब्यक्तिहरु सम्प्रेषण गर्न पाइने छैन् ।