४ भदौ, काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेशनल टी–ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो ।
भाइपर्सले सन्दीपसँगै इङ्ल्याण्डका ६ जना, वेष्टइन्डिजका २ जना, श्रीलंका, पाकिस्तान, न्युजिल्याण्ड र नामिबियाका १–१ जना खेलाडीलाई अनुबन्ध गरेको छ । सन्दीप र श्रीलंका क्रिकेट टोलीका स्टार लेगस्पिनर वानिन्दु हसरंगा एकै टोलीमा परेका छन् । भाइपर्सले टोली घोषणा गर्दा विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट लेगस्पिनर वानिन्दु र एसोसिएट स्टार सन्दीप एकै टोलीमा परेका हुन् ।
दुबै लेग स्पिनर हुँदा सन्दीपले तुलनात्मक रुपमा कम अवसर पाउन सक्छन् । त्यो समय श्रीलंकाको अन्तर्राष्ट्रिय सिरिज जुधेमा भने सन्दीपले बढी अवसर पाउन सक्ने सम्भावना पनि रहन्छ । हरेक टोलीले दुई एसोसियट खेलाडी अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । सन्दीप र नामिबियाका रुबेन ट्रम्पलम्यानलाई भाइपर्सले टोलीमा अनुबन्ध गरेको हो ।
६ फ्रेन्चाइजले नै आफ्नो टोली घोषणा गर्दा सन्दीप बाहेक अन्यले स्थान पाउन सकेनन् । सन्दीप मार्की खेलाडी हुँदा टोलीमा विक्ने यसअघिनै पक्कापक्की थियो । यस्तै टम मुडीलाई क्रिकेट निर्देशकको रूपमा र जेम्स फोस्टरलाई डेजर्ट भाइपर्स टोलीका लागि मुख्य प्रशिक्षकको रूपमा भित्र्याएको छ ।
ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १४ विदेशी खेलाडी राख्न पाईनेछ ।
यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ–११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनुपर्नेछ । पहिलो संस्करणका लागि आईएल टी–२० ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको क्रिकइन्फोले जनाएको छ ।
जुन पारिश्रमिक भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) पछिकै सर्वाधिक बढी हो। यद्यपि सन्दीपको पारिश्रमिक भने अहिले खुलाइएको छैन् । ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।