उज्यालो छोडेर अस्ताए प्रदीप गिरी

४ भदौ ७९, आइतबार

५ भदौ ,विराटनगर ।
समाजवादी चिन्तक, प्रखरवक्ता, बौद्धिक नेता, गान्धीवादी जस्ता थुप्रै उपमा र छवि बनाएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरी अब भौतिकरुपमा हामीमाझ रहेनन् । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राती ९.३० बजे निधन भएको छ ।

७५ वर्षीय गिरि झण्डै पाँच वर्षदेखि घाँटीको क्यान्सरले पीडित थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउनेक्रम चलिरहेको थियो । यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । २००४ सालमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरि सिराहा एकबाट प्रतिनिधिसभा सांसद थिए । उनी २०२१ सालबाट राजनीतिमा सक्रिय भएका हुन् ।

Advertisement

२०२४ सालमा वनारसमा नेपाल छात्र संघमा आवद्ध भई निर्वाचित कमिटीमा बसेका थिए । नेपाली कांग्रेसको केन्द्रीय समितिमा लामो समयदेखि क्रियाशिल रहे । २०५१ सालको संसदीय चुनावमा सिरहा ५ बाट निर्वाचत भएका थिए । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा पनि कांग्रेसबाट समानुपातिक सभासद् भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए । गिरीले राजनीतिक आन्दोलनका क्रममा करिब ४ वर्ष जेल जीवन बिताएका थिए ।

लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरे पनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई कम्युनिष्ट राजनीतिक दर्शन बोक्ने नेता र दलहरुले पनि उत्तिकै सम्मान गर्छन् । त्यसो त उनी कम्युनिष्ट नेता कार्यकर्ताका अघिल्तिर उभिएर कम्युनिष्ट विचार र दर्शनको ज्ञान समेत बाँड्ने गर्दथे । जीवनभर कांग्रेसको राजनीति गरेका उनलाई पार्टीभित्र नेताहरुको नेपालमा कम्युनिष्ट फैलाउन सघाएको आरोप समेत लगाउँथे ।

Advertisement

दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता राख्ने गिरी भारतको जवरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर थिए । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्रलगायतका एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित रहेका छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन् ।

पटक पटक सांसद बनेका गिरी न मन्त्री बने , नत मन्त्री बन्न लालायित भए । गिरि नेपाली कांग्रेसका नेता एवम् सांसद भन्दा बढी आमस्वीकार्य चिन्तकका रुपमा स्थापित थिए । त्यसैले उनको निधनअघि नै अनेक क्षेत्रका दिग्गज व्यक्तिहरुले स्वास्थ्य लाभसहित उनको योगदान सम्झन थालेका थिए ।

उनको निधनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मर्माहत भएको बताएका छन् ।उनले लेखेका छन्,‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेका छन्,’नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

नेपाल समाजवादी पार्टीका अधयक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लेखेका छन्,‘४५ बर्षदेखिका अनन्य मित्र तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध छु उहा‘संगको लामो र गहन विमर्शका सुखद स्मृतिहरू सधैं जीवित रहनेछन् वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा वहा‘को अभाव झन् खट्किरहनेछ ।

एमाले नेता घनश्याम भूसाल भन्छन्, ‘कर्मले, लेखनले, विचारले, चिन्तनले, समयले र परिश्रमले अहिलेको समाजवादी आन्दोलनका सम्भवतः सबैभन्दा अग्लो व्यक्ति हुन्, प्रदीप गिरि’, बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरि जत्तिको कोही मान्छे अब बाँकी छैनन् ।

यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘सत्ताप्रति कहिल्यै मोह नराख्ने, मनमौजी र समाजवादी आन्दोलनप्रति प्रतिबद्ध व्यक्तित्व स्थापित गर्नुभयो’ ‘कसैले सानिध्य धेरै र कसैले थोरै पायौं होला । तर हरेकले अथक योद्धा र महान् गुरु गुमायौं ।’

एकदमै साधारण र एकांकी जीवनशैलीमा रमाउने गिरिका एक श्रीमती र एक छोरा रहेका छन् । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा ल्याइएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top