६ भदौ ,विराटनगर ।
स्वतन्त्रबाट धरान उपमहानगरको मेयरमा निर्वाचित मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ । मेयर साम्पाङले आज बिहानै फेसबुकमा तस्बिर राख्दै दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका हुन् ।
उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् । साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई सो साइकल उपहार दिएका हुन् । साम्पाङले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत अघि सारेका छन् ।
सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङ मोटरसाइकलमा यात्रा गर्दै आएका छन् । सामाजिक संजालमा सक्रिय साम्पाङ पछिल्ला दिनमा काठमाडौंका मेयर बालेन्द्र साहमाथि विभिन्न टिप्पणी गरेर चर्चामा छन् ।
मेयरमा निर्वाचित भएपछि पहिलो पटक संघीय राजधानी काठमाडौं पुगेका मेयर साम्पाङले त्याहा उठ्न नसकेको फोहोरलाई लिएर बालेनलाई कटाक्ष गरेपछि उनी थप विवादित बनेका छन् । काठमाडौबाट धरान आएपछि ठटौली पारामा आफू काठमाडौ पुगेर आएपछि फोहोर उठ्न थालेको भन्दै सामाजिक संजालमा लेखेपछि बालेन र हर्क बीच सामाजिक संजालमा नै एकअर्काप्रति कटाक्ष चलेको थियो । पछि हर्कले बालेनलाई लक्षित गर्दै फोहोर उठाउन नसक्नेले धेरै फुर्ती नगर्न चेतावनी दिएका थिए ।