Nepal Times
Nepal Times
3
Shares

शंखमूल र बानेश्वर पुग्दा किन झ्वाँक्किए बालेन ?

शंखमूल र बानेश्वर पुग्दा किन झ्वाँक्किए बालेन ?

९ भदौ, काठमाण्डौ।

काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।  कामपा प्रमुख बालेन्द्र साहको सचिवालयले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने बताएको छ । संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ ।

सोही क्रममा आज पनि मेयर साह टोली लिएर विभिन्न ठाउँको निरिक्षणमा निस्किएका छन् । आज बिहान मेयर शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको टोलीले काठमाडौंको नयाँ बानेश्वर– शंखमुल क्षेत्रमा अनुगमन गरि मापदण्ड र अनुमति बिना बनाएका संरचना हटाउन निर्देशन दिएको हो । बुधबार एकाएक संरचना भत्काएको महानगरले आज बानेश्वर क्षेत्रमा भने संरचना हटाउन समय दिएर सटर बन्द गराएको छ ।

अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् । बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सले निर्माण गरेका पूर्वाधारको अनुगमनका क्रममा भने बालेन आक्रोशित भएका थिए । नक्सा मागेपछि सञ्चालकले तत्कालै दिन नसकेपछि झ्वाँक्किएका बालेनले तत्कालै अवैध संरचना रहेको सटर झार्न निर्देशन दिए ।

महानगरले यसअघि नै ३५ दिने सूचना निकालिसकेको बताउँदै बालेनले तत्कालै नक्सा उपलब्ध गराउन निर्देशन दिए । त्यसपछि अल्फा बिटा समूहका अध्यक्ष द्विराज शर्माले बालेनलाई डन हो कि के हो? भन्दै प्रश्न गरेका थिए । उनले आफूलाई थर्काउन खोजेको गुनासो गरेका थिए । बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिएका छन् । अल्फा बिटाले फुटपाथमै पार्किङदेखि नक्साबिनाको संरचना बनाएको गुनासो आएको थियो ।

बालेनमाथि अल्फा बिटाका सञ्चालक शर्माले स्टन्ट गरेको पनि आरोप लगाए । तर बालेनले आफूले मिडिया ल्याएर स्टन्ट नगरेको जवाफ दिएका छन् । अल्फा बिटाका सञ्चालक शर्मा त्यसपछि बालेनको व्यवहारलाई लिएर आक्रोशित भएका थिए ।

उनले डन शैली नदेखाउन पनि बालेनलाई चेतावनी दिएका थिए । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरू गरेको हो । उक्त कार्य सुरु गरेसँगै आगामी दिनमा पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.