Nepal Times
Nepal Times
3
Shares

बालेनले नगर रक्षक र विद्यार्थीको खाजा भत्ता बढाए

बालेनले नगर रक्षक र विद्यार्थीको खाजा भत्ता बढाए

१२ भदौ , काठमाडौं।
काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत उपलब्ध गराउदै आएको दैनिक भत्ता बृद्धि गरेको छ । महानगरले अब नगर रक्षकलाई पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पु¥याइएको हो । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए । यस्तै काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताव भएको हो । कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।

महानगरले खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न खाद्य निरीक्षक ’फुड इन्सपेक्टर’ नियुक्त गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले पाँच जना फुड इन्सपेक्टर करारमा लिने निर्णय गरेको हो । उनीहरूले होटल रेस्टुरेन्टमा बन्ने खानेकुरा, तरकारी पसल, मासुको गुणस्तर अनुगमन गर्नेछन् । खाद्य प्रविधि विषयमा स्नातकोत्तर पढेका पाँच जना व्यक्ति करारमा लिने महानगरले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.