काठमाडौं एमालेको सिफारिसमा परेका उम्मेदवारहरु यस्ता छन्

१६ भदौ , काठमाण्डौ ।

गत स्थानीय चुनावमा आफ्नै पार्टीका नेता केशव स्थापितलाई नसघाएको तथा त्यसअघि काठमाडौं महानगरपालिकाको मेयरका रुपमा पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको आरोप खेपेका विद्यासुन्दर शाक्यलाई नै नेकपा एमालेले दुई ठाउँबाट संघीय सांसद्को उम्मेदवारका  रुपमा सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका दुईवटा क्षेत्रीय कमिटिले उनलाई जिल्लामा सिफारिस गरेका हुन् ।

शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय सांसद्को उम्मेदवारका लागि सिफारिस भएको हो । क्षेत्र नम्बर ७ बाट यसअघि ललितपुरमा उठ्दै आएका रघुजी पन्तको नाम पनि सिफारिस भएको छ । शाक्य र पन्तसँगै इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरेको नाम पनि संघीय सांसद्को उम्मेदवारका लागि एमालेले सिफारिस गरेको छ ।

Advertisement

एक क्षेत्रबाट बढीमा ३ जनाको मात्रै नाम पठाउन एमालेको निर्देशन थियो । त्यस्तै पूर्वमेयर शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ९ बाट पनि सिफारिस भएको छ । एमालेले यो क्षेत्रबाट पूर्वमन्त्री एवम् स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य र डा. अजय क्रान्ति शाक्यको नाम पनि सिफारिस गरेको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीले १० वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सिफारिस गर्न क्षेत्रीय कमिटीहरुलाई दिएको समयभित्र नाम सिफारिस भएको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ । एमालेको निर्वाचन क्षेत्र स्तरीय समितिले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

Advertisement

७ र ९ संगै काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ मा मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ । काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

यस्तै काठमाडौं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ । एमालेले काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम काठमाडौं ८ बाट सिफारिस नभए पनि उनले चाहेमा टिकट पाउने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top