२५ भदौ , काठमाण्डौ ।
देशका अधिकाँश स्थानमा अझै केही दिन आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ ।
अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
गए राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा सुदूरपश्चिम प्रदेशलगायत थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस छ ।